ताजा समाचार

चैत्र १ गते २०७३

मंगल ग्रहमा आलु फलाइने

- सेतो परेवा सम्वाददाता,  

एजेन्सी । हलिउडको साइन्स फिक्सन चलचित्र ‘द मार्टिन’मा फिक्सनल एष्ट्रोनट म्याट डेमोनले मंगल ग्रहमा आफूलाई जीवित राख्न आलु फलाएका थिए । त्यस समय मंगल ग्रहमा आलु फलाउनु कोरा कल्पना मात्रै मानिएको थियो । तर अहिले आएर बैज्ञानिहरुले सन् २०१५ मा ‘द मार्टिन’ चलचित्रको धारणालाई सही साबित गरिदिएका छन् । बैज्ञानिकहरुले गरेको प्रयोगको सुरुवाती नतिजाबाट मंगल ग्रहमा आलु फलाउन सकिनेछ ।

                          

पेरुको लिमास्थित अन्तर्राष्ट्रिय आलु केन्द्र (सीआईपी)ले मंगल ग्रहमा आलु फलाउन सकिने सम्भावनाको खोजीका लागि कैयन् प्रयोग गर्यो । प्रयोगबाट आलुलाई उच्च तापक्रमको वातावरणमा पनि फलाउन सकिने देखियो  । गत वर्ष १४ फेब्रुअरीबाट सीआईपीले मंगल ग्रह जस्तो वातावरणमा आलुलाई फलाउने प्रयोगको शुरुवात गरेका थिए । क्यालिफोर्नियास्थित नासाको एम्स रिसर्च सेन्टरद्धारा उपलव्ध गराइएको डिजाइन र सुझावअनुसार लिमामा इन्जिनियरिङ एण्ड टेक्नोलोजीका इन्जिनियरद्वारा निर्माण गरिएको विशेष क्युबसेटमा आलु रोपिएको थियो ।

बैज्ञानिक जुलियो वाल्डिविया–सिल्वाले यदि प्रयोगशालामा विपरित परिस्थितिमा आलु फल्न सक्षम भएको छ भने मंगल ग्रहमा पनि राम्रोसँग आलु उत्पादन हुनसक्ने दाबी गरे । उनले कुन प्रजातिको आलु फलाउनु सबैभन्दा उत्तम हुनेछ भन्नेबारेमा भने धेरै प्रयोग गरिने बताएका छन् ।