ताजा समाचार

वैशाख २७ गते २०७४

बाली स्याहार्ने समयमा कीरा लागे पछि अरहरखेती प्रभावित

- सन्तोष पौडेल, बर्दिया

मौसम परिवर्तनसँगै तापक्रम बढेपछि बर्दियामा अरहर बालीमा कीराको प्रकोप देखिएको छ । दलहन बाली स्याहार्ने समयमा कीरा लागे पछि सयौं हेक्टरमा लागाइएको अरहरखेती प्रभावित बनेको छ ।

लामो समयदेखि चलेको पूर्वीया हावाका कारण तापक्रम बढेपछि बर्दियामा खेतीगरिने दालजन्य अरहरबाली नोक्सान भएको छ । बाली स्याहार्ने समयमा अरहरको कोसामा कीरा लाग्दा बाली नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार बर्दियामा गत वर्ष एक हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा अरहरखेती गरिएको थियो । गत वर्ष एक हजार एक सय मेट्रिक टन अरहर उत्पादन भएको जनाइएको छ ।

कार्यालयका अनुसार बर्दियामा अरहरको उत्पादन सन्तोषजनक नभएको बताइएको छ । विशेष गरी गर्मी मौसमको सुरुवातसँगै अरहरमा कीरा लाग्नेगरेको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताउनुभयो । उहाँले भन्नुभयो, ’मौसम परिवर्तनसँगै तापक्रम बढेपछि अरहरको कोसामा कीरा लाग्ने गर्छ ।’ पछिल्लो समयको वर्षातपछि अरहरको बोटमा नयाँ पालुवा पलाएपछि पनि कीराको प्रकोप बढेको हो । बर्दियामा यस आर्थिक वर्ष एक हजार ६ सय ४१ हेक्टर क्षेत्रफलमा अरहर खेती गरिएको छ । जसमा एक हजार दुई सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

किसानको अनुभवमा अरहर काट्नु पूर्व अन्तिम महिनामा पूर्वीया वायुको प्रभावले कीरा लाग्ने र पश्चिमा वायुको प्रभावले कीरा हराउँछ भन्ने विश्वास रहँदै आएको पाइन्छ । अरहरखेती तयार हुन एक वर्ष समय लाग्ने हुनाले पनि किसान मर्कामा पर्ने गरेका छन् । बर्दियामा कृषि बिमाको राम्रो प्रचारप्रसार नहुँदा किसानको बिमाप्रति आर्कषण छैन । यदि किसानले बिमा गरेको भए नोक्सान भएको अरहरको क्षतीपूर्ति पाउने थिए तर कीराबाट क्षती व्यहोरेका किसानले बिमा नगरेको हुँदा क्षतीपूर्ति पाउनबाट बञ्चित भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com