ताजा समाचार

जेठ ९ गते २०७४

वीरेठाँटीका विद्यार्थीको कोरियामा कला प्रदर्शन र साँस्कृतिक कार्यक्रम

- सेतो परेवा सम्वाददाता,  

अन्नपूर्ण गाउँपालिकास्थित वीरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीले दक्षिण कोरियाको सिओलमा चित्रकला प्रदर्शनी र साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । साँस्कृतिक कार्यक्रमका लागि विद्यालयले आन्तरिक स्रोतबाट संगीत प्रशिक्षक धनबहादुर गायकलाई नियुक्त गरेको छ ।विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले गायकलाई संझौतापत्र हस्तान्तरण गर्दै आफ्ना विद्यार्थीले कोरियामा चित्रकला सहित लोकबाजामा लोक धुन प्रस्तुत गर्ने भएकाले प्रशिक्षक धनबहादुर गायकलाई सारङ्गी, मादल र नृत्य प्रशिक्षणका लागि नियुक्त गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होशियारसिंह गुरुङले गाउँका विद्यार्थीले अन्तर्राष्ट्रिय रंगमञ्चमा आफ्नो प्रतिभासहित नेपाली भेषभूषा, लोकबाजा, धुन र नृत्य प्रस्तुत गर्दा नेपालकै गरिमा बढ्ने हुनाले निखार ल्याउनका लागि थप प्रशिक्षण आवश्यक रहेको जनाए ।संगीत प्रशिक्षक धनबहादुर गायकले संगीत आफैमा अन्तर्राष्ट्रिय भाषा भएकाले, वीरेठाँटी स्कुलले दिएको जिम्मेवारीलाई सफल बनाउन आफू लागिपर्ने जनाए । कला प्रदर्शनी र साँस्कृतिक कार्यक्रमका लागि कोरिया जाने विद्यार्थीलाई निपूर्ण बनाउने मौका पाउँदा आफूलाई खुशी लागेको बताए ।

शिक्षक चन्दराज आचार्यले दक्ष संगीत प्रशिक्षक खोज्नु र पाउनु हाम्रो लागि गौरवको विषय बनेको छ । प्रशिक्षकले साताको १० घण्टा सारङ्गी र मादलमा लोक धुन र नृत्य सिकाउने हुँदा विद्यार्थीको क्षमता अभिवृद्धि हुनेछ जसले विदेशमा समेत नेपालको प्रतिष्ठा कायम रहने जनाए । आफैले बनाएका चित्रकला, नेपाली भेषभूषा, नेपाली बाजा, धुन र नृत्य सहित विद्यार्थीहरु नेपालबाट कोरिया जाने पहिलो समूह हुन् ।१३ जना विद्यार्थीलाई चित्रकला सिकाउँदै आएका कोरियाली नागरिक क्यु खिउन किमले स्कुलको सिफारिशमा ८ जना विद्यार्थीलाई भदौको अन्तिम साता सिउलको लमेल आर्ट ग्यालरीमा प्रस्तुत गर्दै छन् । यिनै विद्यार्थीले तयार गरेका १ सय २० वटा चित्र कला सिओल पुगिसकेका छन् । नेपालको प्रकृति र संस्कृतिलाई विद्यार्थीहरुले कलामा उतारेका छन् । प्रदर्शनी आयोजनाको चाँजोपाँजो कला शिक्षक किमले नै मिलाएका हुन ।

सात दिनसम्म चल्ने उक्त कला प्रदर्शनीमा विद्यार्थी कलाकारले नेपाली लोकबाजामा लोकधुन, नृत्य र साँस्कृतिक कार्यक्रम देखाउने छन् । कोरिया जाने ८ विद्यार्थी र २ शिक्षकको ४० लाख भन्दा बढीको खर्च उम हङ्गगिल ह्युमन फाउण्डेसनले व्यहोर्ने छ ।कोरियाली नागरिक उम हंगिलले विश्वका ८ हजार मिटर अग्ला १६ वटा हिमाल आरोहण गरिसकेका छन् । हंगिलले नेपालका ८ वटा हिमाल आरोहण गरी तिनै हिमवेशीमा ८ वटा स्कुल पनि बनाएका छन् । त्यसै अन्तर्गतको वीरेठाँटी स्कुलमा उम हंगिल ह्युमन फाउण्डेसन मार्फत् किमले कला शिक्षकका रुपमा स्वयम् सेवकको भूमिका निर्वाह गरेका छन् । किमले गत वर्ष हरेक विद्यार्थीका अभिभावकलाई खसीले मसी हुन्छ भन्दै १२ लाख बराबरको बाख्राका माउ वितरण गरेका थिए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com