ताजा समाचार

जेठ २१ गते २०७४

सल्लाहा:कथा

- प्रा डा भवानी प्रसाद पाण्डे, पोखरा

एकजना अत्यन्त चर्चित नेता थिए । उनले ऐनमौकामा केही राम्रा काम गरेका हुँदा  कनै समय उनी सार्है  लोकप्रिय वनेका थिए । उनका एकजना पुराना सल्लाहकार एवम् सहयोगी थिए । उनी अत्यन्त समझदार  थिए । उनले समसामयिक परिस्थितिलाई राम्रोसँग  वुझेका थिए । नेतालाई सकेसम्म सही सल्लाहा दिन्थे । नेता भने अहिले चौपट्ट शैलीमा विग्रिसकेका थिए । जाँडपानी व्यापक  र  मज्जाले  खान्थे,कसैलाई टेर्दैनथे । उनले भनेका कुरा संङ्गठनको कानुन हुनुपर्छ भन्थे । उनको पहिलेको प्रसिद्धि,अहिलेको तानाशाही प्रवृत्ति र अपराधीहरूको संरक्षणले गर्दा उनका अगाडि कोही वोल्न सक्दैनथे । सल्लाहकार विवेकशील भएका हुँदा कतिपय अवस्थामा परिस्थितिलाई सम्हाल्दथे  । खासगरी नेतालाई बढी समालेका थिए ।
सल्लाहाकारका एकजना पूराना मित्र थिए । उनी अत्यन्त अध्ययन र विवेकशील थिए । अहिले एउटा प्रशिद्ध राजनैतिक विश्लेषक र प्रगतिवादी आचार शास्त्रीका रूपमा चिनिन्थे । उनी नेताका सल्लाहकारलाई वारम्वार भेट्न आउथे । दार्शनिक सैद्धान्तिक र व्यवहारिक कुराकानीहरू हुन्थे  । साधुजस्ता ती विद्धानवाट  सल्लाहाकार अत्यन्त प्रभावित थिए ।
एकपटक उनी सल्लाहाकारको घरमा आएका थिए । यताउताका कुरा पछि सल्लाहाकारले सोचे–यिनीसँग  नेताको भेट गराइ दिन पाए नेतामा केही सुधार आउदथ्यो कि ? यसै विचारले उनले विद्धानलाई   लिएर नेताका घरमा गए । उनको नेतासँग  सम्पूर्ण सकारात्म परिचय गराउदै भने–उहाँले तपाईंसँग  भेट गर्न चाहानु भएकोले ल्याएको छु । यस्ता विद्धान् आफुँकहाँ  भेटन, उनको सोचाइमा चाकडी गर्न आएको ठानेर उनी खुसी भए । उनीसँग राम्रै कुराकानी भए । साधु अक्सर प्रशिक्षण उपदेश र विश्लेषण  गर्ने वानी भएको हुँदा कुराकै सिलसिलिामा आचार शास्त्रका वारेमा व्याख्यान दिन थाले । नेता र शासकको आचरण कस्तो हुनु पर्छ ? यसै विषयमा भने– कस्तो आचार राम्रो हुन्छ ? नेताले सवै ध्यान दिएर सुन्दै गए । राम्रो जीवन केलाई भनिन्छ ? त्यसका वारेमा पनि व्याख्यान दिए । नेताले विद्धान्का कुरामा ध्यान दिएको देख्दा सल्लाहाकारलाई पनि खुसी लाग्यो । राम्रै प्रभाव परेको अनुमान गरेर । हँ मा हँ  मिलाउदै पनि गए । यसै प्रसङ्गमा विश्लेषकले भने–कुनै नेता शासक प्रशासक आदिले जाँडरक्सी खाने, आफूलाई अलिकति पनि तानाशाही वनाउने र अहम् भाव लिएको खण्डमा उनीहरूको सत्तावाट पतन निश्चित छ । ऊ यस लोकमा कुख्यात त हुन्छ नै परलोकमा पनि नरक भोग गर्ने छ ।
यति कुरा सुन्ने वित्तिकै नेताको तेवर चढीहाल्यो । किनकि उनी रक्सीका वोतल मात्र नभएर घैँटै तान्थे । उनमा नरमपन थिएन । तानाशाही र व्यक्तिवादी प्रवृति प्रसस्त थियो । आफूले भनेजस्तो भएन भने उनी जे पनि वोल्थे र गर्थे पनि । उनलाई विद्धानका भनाइ सवै आफैप्रति लक्षित भएको हो भन्ने लाग्यो । उनको अहम् भावना अचानक जाग्यो । उनले भने ओ महासय तिमी कोसँग के कुरा वोल्दै छौ ? तानाशाहाको पतन हुन्छ ? मादक पदार्थ सेवन गर्ने नरकमा पर्छ ? नेतालाई तिमीले के ठानेका छौ ? नेता त्यसमा पनि सर्वहाराको सर्वोच्च नेता भनेको चान–चुने कुरा हो ? सामान्य मान्छे जस्तो हो ? यो त एउटा महान् युगले जन्माउने कुरा हो । भजन गाएर महात्माइजम गरेर र लुडो खेलेर वा चिट्टा पारेर ठूलो धनी भएजस्तो हो नेता भनेको ? यति भन्दै उनी अत्यन्त क्रोधित र आक्रामक शैलीमा कराउन थाले । विस्तारै त्यसै अनुसार शरीका अङ्गहरू पनि चल्न थाले । ती विद्धान्लाई नेताका स्वभाव वारे केही थाहा थिएन । पहिलो पटक मात्र भेट भएको थियो ।
नेताको चर्को आवाज सुने पछि उनको सुरक्षाका निम्ति खटिएका केही आन्तरिक सुरक्षाकर्मीहरू आएर वरिपरि घेरिए । अचानक सिर्जना भएको यस्तो परिस्थितिबाट विश्लेषक अत्यन्त भयभित भए । उनीसँग  सुरक्षाका कुनै आधार र उपायहरू थिएनन् । उनको जे थियो सवै मुख मात्र थियो । खानेदेखि लिएर सवै सुरक्षा मुख अर्थात् वोलिवाट गर्नुपथ्र्यो । उनी शान्त स्वभावका भएका हुँदा  आफ्नो वचाउका लागि उनी केही भन्न खोज्दै थिए । नेताले एकोहोरो लपेटी रहेका थिए । उनी वोल्ने कोसिस गर्दै थिए त्यसै समयमा परिस्थितिलाई समाल्ने शैलीमा सल्लाहाकारले नेतालाई सम्वोधन गर्दै भन–े उहाँ  विद्धान् मित्रको भनाइको अर्थ हाम्रा गौरवशाली पार्टीका गौरवशाली नेतालाई हेप्ने आसयको हैन । उहाँले भन्नुभएका कुरा जायज छन् । उहाँको भनाइको अर्थ हो– जसले अलिकति रक्सी खान्छ, त्यसको नरकवास हुन्छ जो अलिकति तानाशाहा हुन्छ त्यसको पतन निश्चित हुन्छ । हाम्रा नेतालाई त्यो लागू हुँदैन । किनकि हाम्रा शिर्ष नेताले कुनै पनि कुरा अलिकति गर्नु हुन्न । जसले आलिकति रक्सी खान्छन् त्यसको नरकवास हुन्छ, जो अलिकति तानाशाहा र हठी छ त्यसको पतन हुन्छ । हाम्रा नेतालाई त्यो लागू हुदैन । उहाँले खुला ठाउमै भन्नु भएको छ– म थोरै र विस्तारै केही पनि गर्दिन । मत हरेक कुरामा छलाङ मार्छु । म थोरै र विस्तारै कहिल्यै चदिल्न । हरेक कुराको चलाइमा मेरो फड्को लामो हुन्छ । त्यो उत्तर दक्षिण जतासुकैको होस् । उहाँले विस्तारै गति लिनेलाई एकातिर यथास्थितिवादी र अर्कातिर जडसूत्रवादी भन्नु भएको छ । उहाँले रक्सी पनि थोरै कहिल्यै खानु हुन्न । मेरा मित्रको भनाइ अनुसार पनि थोरै मात्र खानेको नरक वास हुन्छ भन्ने  हो । त्यसको उल्टो धेरै खानेको स्वत स्वर्गवास हुने नै भयो । उहाँले भनेका सवै पक्षमा लागू हुन्छ । राजनीति सेवा चाकडी आदिमा यो पद्धति लागू हुन्छ ।
थोरै गर्ने खतम धेरै गर्ने मालामाल नै हो । सल्लाहाकारका सवै कुरा सुनेपछि  नेताको सवैक्रोध हरायो उनी शान्त अवस्थामा आए । उनले सल्लाहाकारका मित्रलाई वढो सम्मानका साथ विदा गरे ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com