ताजा समाचार

जेठ ३० गते २०७४

मगरको ज्वाँई

- शुभ पाण्डे , पोखरा

“ मगरको ज्वाँई ” प्रसङ्ग मैले स्कूल पढाउने समयको हो । अहिले धेरै ठाउमा स्कूल खुलेका छन् । त्यस समयमा हाइस्कूल हाम्रो गाउँमा मात्र थियो । अर्थात यसका वरिपरि ३ कोशसम्म स्कूल थिएनन् । त्यहाँका पढ्न चाहने विद्यार्थीहरु त्यहीँ आउँथे  ।हाम्रो गाउँ भन्दा अलि माथि मगर गाउँ छ । उनीहरुको सवैभन्दा नजिकको स्कूल भनेको त्यही नै थियो । त्यहाका कतिपय विद्यार्थीहरु दिनको तीनघण्टसम्म हिडेर स्कूल आउने जाने गर्थे भने केही त्यही पनि बस्थे । स्कूलले छात्राहरुलाई छात्रबास राखिदिएको थियो । खास गरी टाढाका छात्राहरु त्यही बस्थे । तीमध्ये एउटीको नाम साइली थियो । स्कूलको नाम त लोना मगर हो तर सवैले साइली नै भन्थे । रिष्टपुष्ट एवम् छरितो स्वभावकी साइली कक्षा नौमा पढ्थी । राम्री थिई ।

स्कूलमा म्याथ साइन्स पढाउने सर थिए । उनलाई सवैले निहुरे सर भन्थे । उनले एकदिन भने “जनजाति खासगरी मगर जातिका केटीहरु रिष्टपुष्ट रसिला पोटिला आकर्षक हुुन्छन् । तर बूढी भए पछि कति खिङ्ग्रिङ्ग बन्छन् किन होला” ? मैले भने “बूढो भए पछि सवैजात त्यस्तै हो । केही सफासुग्घर रहन्छन् र आलि विशेक देखिने हो नत्र केही फरक छैन” । मैले माइली नेवार्नी र सिरिनाघरे वाहुनीको उदाहरण पनि दिए । ती आधा दाँत नभएका साहै नराम्रा थिए । साइलीका बाबु भूपू ईण्डियन सैनिक थिए । साइली उतै जन्मेकी हुदा सवैले लैन छोकडी भन्थे । त्यसो त त्यहा पढ्ने मगरनी ५ वटी केटीहरु मध्ये ३वटी लाहुरेका छोरी थिए भने दुईवटी मुुखियाका ।  स्कूलका केही शिक्षकहरुले टिउसन पनि पढाउथे । त्यसमा निहुरे सरको नाम एक नम्वरमा आउँथ्यो । सधैंँ जसो ट्यूसन पढ्ने समुहमा ती ५वटी मगर छात्राहरु पनि थिए । यसै सिलसिलामा निहुरे सर साइलीतिर आकर्षित भएछन् । एकदिन निहुरे सरले ढकाल सरसँग भन्दै थिए मलाई साइली असाध्यै मन पर्छ । विवाह गर्नु पछ की क्या हो ? ढकालले भने “त्यति सजिलो छ र ? तिमीहरुको जात र संस्कृति मिल्दैन। यिनीहरुको बाबु आमा र केटीको सहमति भएन भने पछि पनि केटी फर्काउने मगरको चलन हुन्छ । मगरहरुले घरमा आइ पर्ने कठिन कामहरु ज्वाँईलाई गर्न लगाउछन् । कतिपय त ससुरालीको घरमा गोठालो बसेका हुन्छन् । तपाइको घरमा पनि त समस्या होला” । निहुरेले कम्युनिष्टका नेताले जस्तै शैलीमा भने जातभन्ने कुरा त्यति जटिल होइन मान्छेको जात एउटै हो थपे विवाह पछि जायजात हुने जति सवै एउटै जात हो । यो नहुने जति भिन्न जात हो यो पशु पंक्षीमा पनि हुन्छ । जहासम्म संस्कृतिको कुरा छ त्यसमा त्यति समस्या छैन । जाडरक्सी,सुगुर म पनि खान्छु । नाचगान मलाई पनि आउछ । उनीहरुले धामी झाक्री आदि मानेजस्तै हामीले पनि भगेर, झाक्री आदि मान्दै आएका छौ । सवैले काल्पनिक देवता मान्छौ , पूजा गर्दछौ । सवैका धार्मिक, सामाजिक, सास्कृतिक परम्पराहरु अन्धविश्वासमा नै आधारित छन् ।जहासम्म सहमतिको कुरा छ त्यसका गन्धवविवार्ह लगायतका धेरै उपायहरु छन् । घरका वारेमा  पनि त्यति समस्या छैन । बाबुले कान्छो भाइलाई असाद्धै माया गर्दछन् उसैसग बस्छन् । ज्वाँईलाई काम गराउने गाउकाहरुलाई हो म जस्ता जागिर खानेलाई होइन ।  मैले उनीहरुका कुरा बाहिरैबाट सुनेको एकमहिना पछि साइली र निउरेको विवाह भएछ । उनीहरु सँगै बस्न थालेछन् । विवाह उपलक्ष्यमा हामी स्टाफहरुलाई निहुरेसरले एकदिन राम्रो खाजा पनि खुवाए । त्यसैै दिन थाहा भयो विवाह गर्ने कुरा उठ्दा साइलीका बाबुले दुईवटा सर्त राखेका रहेछन् । एउटा साइलीले खुसी भएर स्वीकार गर्नुपर्ने, अर्को चाही उनका घरमा हुने सास्कृतिक कार्यक्रममा ज्वाँई सहभागी  हुनु पर्ने । साइलीले सरले भने पछि मान्छु भनि रे । माइती मान्न सुँगुर रक्सी ,रोटी आदि चाहिने हुदा पछि उतै मगर गाउबाट लिएर नाजे कुरा भएको रहेछ । केही समय पछिको कुरा हो मगरगाउका सवै अरु जात जाति र दलितहरु समेत पाका मानिसहरुले निहुरेसरलाई ज्वाँई भन्न थाले भने सानाकेटाकेटीहरुले भिनाजु । यसमा ज्वाँई भन्नेहरु अत्यधिक थिए । हुन त साइलीहरु ६ बहिनी थिए । कान्छी वाहेक सवैको विवाह गाउका मगरसँगै भएको थियो । उनीहरुलाई आफ्ना ससुरालीले वाहेक ज्वाँई भान्जा भन्दैनथे । जेठो माइलो कान्छो वा नामले बोलाउथे तर निहुरेलाई सवैले ज्वाँई भन्थे । भन्ने मात्र नभएर बढो सम्मान गर्थे । सवैले बोलाउथे । पछिपछि त गाउलेले उनको नाम नै मगरको ज्वाँई राखेको थिए । यसमा निहुरे सर खुसि नै थिए । मगरका चाडहरु भदौरे,कात्तिके आदिमा विदा लिएरै  जान्थे । फर्केर आए पछि निकै खुृसी देखिन्थे । लाहुरे मगरका छोरा थिएनन् । उनका अरु ज्वाँईहरुले पनि आफूलाई मान्छन् भन्थे । यो हामीले पनि देखेको कुरा हो ।  प्रसङ्ग केही वर्ष पछि को हो । लाहुरे मगरकी कान्छी छोरीको विवाह गर्ने कुरा आयो । त्यतिखेर केटीले पोखरामा पढ्थी प्रमाणपत्र तहको परीक्षा दिएकी थिई । ६वटी मध्ये सवैभन्दा धेरै पढेकी त्यही थिइ । अरु साक्षरमात्र थिए । साइलीले एसलसी फेल भए पछि फेरि जाच दिइन । लाहुरे मगरले बान्छी छोरीको विवाह धुमधामसग गर्ने भए । सँगै पढ्ने गाउको मगर केटासँग विवाह गर्ने भए पनि सवै तामझाम गर्ने भए । खास गरी बाहुन क्षत्रीको जस्तै बाजाबन्दुक सहित जन्ती ल्याउने अनि परम्परागत मगरविधि पनि त्यसमा मिसाउने भएछन् । यस्तो गर्दा सवैलार्इ हुन्छ भन्ने तर्क थियो । केटाले पनि लाहुरे मगरले भनेजस्तै जन्ती लाने भएछन् ।

हामी शिक्षकहरु दुवैतिरबाट आमन्त्रित भयौ । निहुरे सर तीनदिन देखि उही थिए । विवाहका दिन हामी जन्ती भएर गयौ । केटाको घर तल  भएकोले पहिले माथि जानु उल्टो पनि पर्थ्यो । जन्ती घर नजिकै पुगे । हामी पछि थियौ । ज्वाँईहरुले डोला रोके भन्ने हल्ला भयो । हेर्न हामी अघि गयौ । लाहुरे मगरका  ५ वटा ज्वाँईले छेकेका रहेछन् । छेक्ने शैली भने बढो नौलो र अचम्मको लाग्यो । ती पाचै जनाले कुकुरको जस्तै मेकअप गरेका थिए । सायद उनीहरुले पूरा कुकुरको छाला ओडेका थिए । पुच्छर कान लगायतका अङ्गहरु साच्चै कुकुरका जस्तै थिए । हातखुट्टामा पनि त्यस्तै छाला र नङ्ग्रा थिए । उनीहरुले चारहात खुट्टा टेकेका थिए । आवाज पनि कुकुरको जस्तै निकालेर घुमि –नाची रहेका थिए । उनीहरुको डोला – बाटो  छेक्ने तरिका यस्तो रहेछ । यो तरिका मलाई अत्यन्त नौलो  रोचक लाग्यो । अरु मानिसहरु शान्त थिए । कुकुर कराउदै र नाच्दै थिए । एकछिन पछि दुलहीतिरका एकजनामान्छेले उच्च स्वरमा भने अव जन्तीले बाटो खुलाउनु पर्‍यो । त्यसपछि दुलहातिरका दुईजनाले जाँडका दुईबटा घैटा र बटुका लिएर अघिसरे । अर्को एकजनले सुगुर र कुखुराको पकाएको मासुको भाडो लिएर आईपुगे । अव पाचैबटा कुकुरलाई मासुका चोक्टा बटुकामा राखिदिए । कुकुर भएकाहरुले नाच्दै खादै गर्नथाले र रक्सी चाही सुरुमा घैटाबाट धारा चुहाउने र उनीहरुले ठाडो घाटी लगाएर खानु पर्दो रहेछ । पछि त भाडो मै दिए । दुलाहा तिरकाले दिने र उनीहरुले खानेकाम लामो समयसम्म रह्यो । थाहा भयो उनीहरु टन्न अघाए पछि मात्र बाटो छाड्दा रहेछन । चाडै अघाएर बाटो छाड्दा पनि इज्जत रहदैन रे । यी बहादुर मानिदैनन् । त्यसो भएकोले समय लगाउदा रहेछन् । लामो समयसम्म नाच्दै खादै गरेर थाकेपछि बाटो छाडिदिए । त्यसपछि जन्तीघरमा पुग्यो । ज्वाँईहरु र दुलहा घरभित्र पसे । हामीलाई छुट्टै घरमा खानपिनको व्यवस्था रहेछ । खाए पछि केटीलाई स्कूलको तर्फबाट संयुक्त उपहार दिएर हामी फर्केऔँ। त्यस पछिको विवाह के कस्तो शैलीमा भयो थाहा भएन । निहुरे सर पर्सिपल्ट मात्र स्कूल आए । त्यस पछि भने उनले ससुरालीको बखान गर्न छाडे ।