ताजा समाचार

श्रावण २२ गते २०७४

सडकको खाल्डोमा परी एकै परिवारका चार बालिकाको मृत्यु

- सेतो परेवा सम्वाददाता,  रौतहट

 रौतहट जिल्लाको गरुडा नगरपालिका-४ स्थित खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ४ बालिकाको शनिबार मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय राम एकवाल साहकी छोरीहरु १२ वर्षीया संगीता साह, ९ वर्षीया सुनिता, उनका राम एकवालका भाईहरु योगेन्द्र साहकी छोरी ९ वर्षीया सुनैना साह, प्रेम साहकी छोरी ९ वर्षीया सुस्मिता साह रहेको ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए। मृतकहरु एकै परिवारको भएको उनले जनाए।

बिहान घाँस काट्न घरबाट निस्केका चारै जना बालिका दिउँसो अढाई बजेसम्म घरमा फर्केर नआएपछि उनीहरुको परिवारले खोजी सुरु गरेको थियो। करिब ३ बजे एकै ठाउँमा खाल्डोमा डुबेको अवस्थामा बालिकाहरुलाई फेला पारिएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा पठाइएको निरीक्षक रेग्मीले बताए।

चन्द्रनिगाहपुर–गौर सडकसँग जोडिएको नयाँ कच्ची बाटो निर्माणको क्रममा खेतमा खाल्डो खनिएको थियो। सडक भन्दा करिब ८ फिट गहिरो खाल्डो रहेको स्थानीयको भनाई छ।