ताजा समाचार

भाद्र २५ गते २०७४

‘नो’ शिक्षकहरूका लागि एउटा प्रेम पत्र

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

प्रिय, पूज्य, आदरणीय जे सुकै भनौँ व्यक्ति र सद्भाव उही हो मात्र केवल शब्द फरक हुन् । आदरार्थीको हिसाबले शब्द तलमाथि होला तर शुद्ध मनबाट निस्कने आदर, सम्मान र प्रेम उही हो । मलाई थाहा छ यदि यो संसारमा कसैले मलाई धेरै भन्दा धेरै माया गर्छ, भित्रै मनदेखि प्रेम गर्छ र स्नेहपूर्वक अँगालो हालेर आँखा चिम्ली चुम्बन बर्षाउँछ भने त्यो तपाईँ हो । त्यसैले यति धेरै प्रेम गर्ने र आत्मीयता दर्शाउने हजुरलाई मैले मेरो मनबाट रोजिएको सबैभन्दा आत्मीय शब्द ‘प्रिय’ ले सम्बोधन गर्नको लागि अनुमति मागिराख्नु पर्छजस्तो लाग्दैन तर पनि हजुरबाट ‘नो’ नआइदियोस् भन्ने मेरो चाहना ।

थाहा छ मैले हजुरलाई एउटा साँघुरो घेराभित्र सीमित गरेर हेर्नु हुँदैन भन्ने तर पनि हजुरलाई केही दुरमा देख्दा मेरो मन उमङ्गले उम्लिन्छ । किन किन हजुर मेरै जस्तो, अझ स्पष्ट पारौँ भने “केवल मेरै मात्र” जस्तो अनुभूति हुन्छ । लाग्छ त्यो दुरी घटाउन पाए । अलिक नजिक पुग्न पाए । ती आँखाहरूसँग यी आँखाहरू जुधाएर हल्का मुस्कान मुस्काउँदै केही क्षणहरू बिताउन पाए । र त्यो सामिप्यबाट बिदा हुनु पर्दा ती सुकोमल हातहरूले मेरा शिर या कुमहरूमा छुँदै अर्को भेटको लागि निम्ता पाउन पाए । तर, विडम्बनाको कुरो दुःखका साथ भन्नुपर्छ– मलाई पिरोल्छ तपाईँको ‘नो’ शब्दले र मलाई आफूले सोँचेको केही गर्न पनि दिँदैन र अगाडि बढ्न पनि दिँदैन तपाईँको त्यही ‘नो’ शब्दले । म सोँच्छु, हजुरसँग त्यो ‘नो’ शब्द नभइदिएको भए आज म कहाँ पुग्दो हुँ । मैले केके गरिसकेको हुँदो हुँ । म भित्र उत्साह आउँछ अनि फेरि बिस्तारै मर्दै जान्छ थाहा छ किन ?  किनकि त्यही तपाईँको ‘नो’ कै कारणले । मलाई ‘नो’ देखि धेरै डर लाग्छ । एलर्जी हुन्छ । यो शब्दप्रति पूराका पूरा घृणा लागेर आउँछ । यदि मैले चाहेर हुने भए यो ‘नो’ शब्द नै सबैको शब्दकोषबाट हटाइदिने थिएँ । तर त्यो मेरो बशको कुरै रहेन । मैले चाहेर केही हुँदैन । हजुर त बुद्धिमानी मान्छे । ज्ञानी मान्छे । जाने बुझेको मान्छे । थाहा छ यो ‘नो’ भन्ने शब्दले कतिको जिन्दगी बिगारेको छ ? डर लाग्छ – कतै यसले मेरो पनि जिन्दगी बिगारी पो दिने हो कि ? प्रिय, म अबुझ छु, अज्ञानी छु, मूर्ख छु, एकोहोरो र जिद्दी छु अनि भोको पनि छु । म त्यो पाउनको लागि जे पनि गर्न तयार छु – रातभरि नसुतिदिन सक्छु, दिनभर एकोहोरो खट्न सक्छु, घरै बिर्सिएर तपाईँकोमा आई समय पुरै कटाइदिन सक्छु तर मेरो यो त्याग, तपस्या र प्रतिबद्धतालाई मूर्खता ठानी त्यसमा बालुवा छर्कँदै बिर्सेर पनि ‘नो’ नभनी दिनु ल ।∙∙∙ सबैले देख्ने गरी भनौँ भने म सबल छु – दुई हात खुट्टा छन्, आँखा, नाक, कान, घाँटी, छाती, पेट सबै तन्दुरुस्त छन् ।

मलाई लाग्छ म जे पनि गर्न सक्छु । तर कोही भन्दा अलि मोटो हुँला, कोही भन्दा अलि पातलो हुँला या कालो हुँला, गोरो हुँला, पुड्को हुँला या अग्लो हुँला त्यसले मेरो व्यक्तित्वमा कुनै आँच ल्याउने छैन र म चाहान्छु त्यसले गर्दा मप्रति हजुरको हेराइमा पनि कुनै फरक नपारी दियोस् त्यसैले बिन्ती गर्छु “प्रिय मलाई ‘नो’ शब्द कहिल्यै प्रयोग गरेर कमजोर नतुल्याइदिनुहोस् ल ।” प्रिय, म हजुरलाई मान्दछु । हजुरलाई मान्नु, सम्मान दिनु यो मेरो रहर मात्रै होइन बाध्यता पनि हो । यदि मैले हजुरलाई सम्मान दिन सकिन भने यो समाजले नै अर्कै बाटो लिन पनि सक्छ । यदि यो समाजले कसैगरी गलत बाटो लियो भने त्यसको जिम्मेबार पनि तपाईँ र म नै ठहरिन्छौँ चाहे त्यहाँ हाम्रो गल्ती होस् या नहोस् । तपाईँ त अलि बुद्धिमान् र ज्ञानी मान्छे त्यसैले दोष तपाईँको अलि कम देखिएला तर मेरो चाहिँ पुरै देखिन्छ । त्यसैले यदि कतै गल्ती नै  भइहाले सच्चाइ दिनुहोला । म भूल स्वीकारी परिवर्तन गरौँला तर सिधै ‘नो’ भनेर हतोत्साहित नबाइदिनु होला । कहिले काहीँ म हतोत्साहित हँुदा आफू भित्रको ‘म’ नै गु्मउन पनि बेर लगाउँदिन । मैले राम्रो गरे तपाईँको मूल्याङ्कन अवश्य हुन्छ । मैले नराम्रो गरे मेरोसँगै हजुरको पनि बेइज्जत हुन्छ । त्यसैले मैले मेरो राम्रोको लागि ममा भएको सर्वस्व गुमाउन तयार छु । तपाईँले बुझिदिने प्रयास गर्नु होला । हरेक दिन बिहान म भगवान्सँगै हजुरको पूजा गर्दछु । बाबुआमाले दिने अर्तीबुद्धि बरु म सुन्दिन तर हजुरका वाणीहरू ध्यान दिएर सुन्छु र यथासक्य जस्ताको तस्तै उपयोग गर्ने गराउने प्रयास गर्दछु । तर मान्छे हुँ गल्ति कतै न कतै त भइहाल्छ सच्याइदिनुहोला मायाले म परिवर्तन गर्दछु तर ‘नो’ भन्दै मलाई जीवनभर नबिर्सने घाउ नबनाइदिनुहोला ।  प्रिय, मेरो धर्म, मेरो संस्कृति, मेरो परम्परा, मेरो व्यक्तित्व, मेरो रहनसहन, उठाइबसाइ सबै तपाईँ नै हो ।

मैले तपाईँबाट जे पाउँछु अरुलाई त्यही दिने हो । त्यसैले मलाई दिने कुरामा कञ्जुस्याईँ नगरिदिनुहोला । बाँड्ने कुरामा झुठो नबाँडी दिनुहोला । मप्रति गरिने व्यवहारमा कुनै जातीय, लैङ्गिक, भाषिक र भौगोलिक भेदभाव पनि नराखी दिनुहोला, मेरो बिन्ती छ । म हजुरको प्रतिबिम्ब हो । भोलिको समाजमा मबाट जे बाहिर आउँछ, त्यो तपाईँको हो । महाभारतमा एकालव्य भन्ने पात्रले गुरु द्रोणाचार्यलाई गुरु मान्न नपाउँदा उनले वालुवाको मुर्ति बनाएर धनुर्विद्या सिके तापनि अन्तमा गुरुको इच्छामुताविक गुरु दक्षिणा बापत आफ्नो दायाँ हातको बुढिऔँला काटेर गुरुको पाउमा चढाए । म त्यो एकालव्य नै त हुन नसकुँला तर पनि आफूभित्रको सर्वस्वको स्वामी तपाईँ हो भन्न हिचकिचाउने छैन । तर पनि प्रिय मेरो सिकाइको क्रममा गल्ति हजार होलान् सच्चाइ दिनुहोला तर ‘नो’ भनेर नहोच्याइ दिनुहोला । प्रिय, हजुरको अगाडि म एउटा अबोध हुँ, मभित्र धेरै सम्भावनाहरू छन् । मादलको तालमा नाच्न सक्छु, एक्लै हुँदा गीतहरू गुन्गुनाउन पनि सक्छु, रुख चढ्ने, हिलोमा खेल्ने, पानी चलाउने, ढुङ्गा र काठका टुक्रा जोडेर घर बनाउने, दुइचार अक्षर लेख्ने, जोड्ने घटाउने सब गर्न सक्छु तर पनि थाहा छैन हजुरको अगाडि किन म खुलेर बोल्न सक्दिन । मैले गर्ने सानातिना गल्तीहरूमा पनि बुबाआमाहरू हजुरकै नाम लिएर तर्साउनु हुन्छ । कक्षामा साथीसँगीहरू पनि केही भइहाल्यो कि त हजुरकै नाम लिएर डर देखाई हाल्छन् । अझ त्यसैमाथि जब कक्षामा हजुर पस्नु हुन्छ र भन्नुहुन्छ ‘नो न्वाइज ! (कोही बोल्दैनन्), नो टक ! (कोही गफ गर्दैन), नो क्वइसन् ! (कोही प्रश्न गर्दैनन्) र जब कापी हेर्दै गएर तलदेखि माथिसम्म देखिने गरी काटेर भन्नुहुन्छ, “ नो राइट आन्सर !, नट गुड !, नथिङ इज गुड ! ” (ठीक उत्तर भएन, राम्रो छैन, केही पनि राम्रो भएन आदि । तब त म जताततै नराम्रो मात्रै देख्न थाल्दछु । यो संसार नै एकदम असुन्दर लाग्छ । आफँै पनि खासै केही गर्न सक्छु जस्तै लाग्दैन । भन्न मन लाग्छ “कृपया म भित्र पनि केही राम्रा पक्ष छन् कि हेरिदिनुहोस् न ! ती राम्रा पक्षलाई उजागार गरिदिनोस् न । म त्यही राम्रोलाई टेकेर उभिन्छु ।” तर आँट आउँदैन । म बोल्न सक्दिनँ । तपार्इँको ‘नो’ ले ती सब चाहनाहरूलाई एकैचोटि दबाईदिन्छ । मेरो विचार, रहर र चाहना त्यहाँभन्दा माथि उठ्नै सक्दैनन् ।

‘नो’ शब्द हेर्दा छोटो छ, बोल्न सजिलो छ तर पनि यसले मेरो मगजमा नकरात्मक कम्पन पैदा गर्दछ । नकारात्मक कम्पनले सकारात्मक सोँचहरूलाई दबाइदिँदो रहेछ । यसले म भित्र भय, डर, त्रास र संकोच पैदा गर्दछ जसले गर्दा मैले गर्न, भन्न र सोँच्न चाहेका कुराहरू पनि हजुर सामु आएपछि खुलेर देखाउन सक्दिन त्यसैको परिणामस्वरुप म सधैँ हजुरको सामु असक्षम, अबुझ र बेकम्मा सावित हुनु पर्दछ । जब एकदिन बेकम्मा, कमजोर र अबुझ हुन्छु तब त बिस्तारै दोस्रो दिन, तेस्रो दिन र चौँथो दिन गर्दै दिनदिनै मभित्र आउने सकारात्मक कम्पनहरूको संवेग नै नष्ट भएर गयो भने या ती कम्पनहरू बीचमै कतै तुइए भने म भित्र मात्रै केवल नकरात्मक कम्पनहरू बाँकि रहनेछन् र मबाट पनि अरुहरूबाट जस्तै रिस, तनाव, डाहा, इष्र्या, घमण्ड, घृणा र वैमनस्यता उत्पन्न हुनेछ । यसरी हजुरबाट ममा र मबाट अरुमा यी नकरात्मक कम्पनहरू हस्तान्तरण हुँदै गए भने सकरात्मक कम्पनहरू कहिल्यै उत्पन्न हुन सक्ने छैनन त्यसैले पनि प्रिय ‘नो’ शब्द प्रयोग गरी म, मेरो समाज र मेरो राष्ट्रलाई नै घात नपुर्याई दिनुहोला । हुन त ‘नो’ शब्दलाई मानिसहरू आआफ्नै तरिकाले व्याख्या र विश्लेषण गर्दछन् । यदि ए. पि. जे. अब्दुल कलामको शब्दकोषमा हे¥यो भने यो राम्र्रै देखिन्छ । उनी भन्छन् अँग्रेजी नो ९ल्इ० को मतलव ९ल्भहत इउउयचतगलष्तथ० अर्थात अर्को वा नयाँ अवसर हुन्छ तर पनि विभिन्न शिक्षाविद्हरू जस्तै गिजुभाइ, मारिया मन्टेश्वरी, वाइगेट्स र सुजता मित्रका लागि भने यो बालमनोविज्ञान र शैक्षिक विकासको बाधक मानिन्छ । उनीहरू त भन्छन् जति सक्यो यो शब्दलाई पठनपाठनको दुनियाँबाट हटाउनै वेस हुन्छ । यो शब्दको प्रयोगले न त प्रयोगकर्तालाई नै राम्रो बनाउँछ न त श्रवणकर्तालाई नै सहज महसुस गराउँछ । बनाउँछ त केवल खिन्न, उदास र निरास मात्रै । त्यसैले म मेरो हजुरलाई बिन्ती टक्रयाउँदै पुन दोहो¥याउन चाहन्छू, प्रिय मलाई नो भनेर खिन्न नबनाई दिनुहोला ।∙∙∙यो पत्र साना बालबालिकाहरूको तर्फबाट शिक्षकहरुको लागि म आफैँले तयार पारेको एउटा पत्र हो । तर पनि यस पत्रको पछाडि लुकेका तथ्यहरू रोचक, रहस्यमय र साेंचनीय छन् ।

यो कुनै भावनामा डुबेर लेखिएको लेख नभएर तथ्य परक सामाग्री हो । हरेक शिक्षकहरुले बुझ्नु जरुरी छ ।सेप्टेम्बर १ का दिन मेरा एक जना मित्रले “बुबा दुइटा जागिर खानु हुन्छ, म उहाँलाई धेरै देख्नै पाउँदिन” भन्ने शीर्षकमा अमेरिकाकी प्राथमिक विद्यालयकी शिक्षिका “कायल सुवार्ज” को लेख मेरो म्यासेन्जरमा पठाउनु भएछ । त्यो पढिसके पछि मलाई मेरी सानी विद्यार्थी ‘पुजा’को याद आयो । उनी कक्षा तीनमा पढ्दै गर्दा सामाजिक शिक्षिकाबाट पाएको दण्ड, घर परिवारबाट दिइएको नकारात्मक दवाब, उनको रुवाइ, पठनपाठनमा परेको असर र पछि त्यसको खोजिनीति गरेपछि शिक्षकहरूबाट दिइने माया, प्रेम, स्नेह र सकारात्मक टिप्पणीहरूबाट आएको उत्साहजनक परिवर्तनलाई पुन एकपटक यहाँ विश्लेषण गर्न मन लाग्यो । त्यस दिनसम्म तिस जना बच्चाहरू भएको कक्षामा तिसौँ नम्बरमा आउने पुजा जसलाई घर परिवार र विद्यालयबाट अलि फरक अर्थात मानसिक रुपमा कमजोर बालिकाका दृष्टिकोणले हेरिएको थियो । कक्षामा धेरै नबोल्ने, साथीहरुको कापी पाए सम्म सार्न खोज्ने, अतिरिक्त्त क्रियाकलापहरु बाट सकभर भाग्न खोज्ने तिनै पुजा जब शिक्षकहरूबाट माया, प्रेम, स्नेह र सकारात्मक टिप्पणीहरू पाउन थालिन्,  उनी एक महिनामै पहिलो दशौँ नम्बर भित्र छिरिन् । यसले सबैलाई चकित मात्रै तुल्याएन, सोच्न बाध्य पनि बनायोे । प्रमाणित के गर्यो भने शिक्षकहरूले दिने पिटाइ, गाली, डर, त्रास र नकरात्मक टिप्पणीहरूले भन्दा माया, प्रेम, स्नेह र सकारात्मक टिप्पणीहरूले विद्यार्थीमा सकारात्मक परिवर्तन ल्याउने रहेछ ।सेम्टेम्वर १ मा कायल सुवार्जको लेख पढेपछि मलाई पनि विद्यार्थीहरू भित्रको केही मनोविज्ञान थाहा पाउने रहर जाग्यो र म अवसर मिलाएर विद्यार्थीहरूको कक्षा कोठाहरू तिर चाहार्न थाँले ।

माथिल्ला कक्षाहरूमा मेरो आफ्नै पिरियड थियो तर साना कक्षाहरूमा त विरलै जाने गर्दथे । त्यसैले त्यस दिन पश्चात साना कक्षाहरूमा पनि छिर्ने निर्णय गरेँ । कक्षा चारमा छिर्ने बित्तिकै धेरै भन्दा धेरै विद्यार्थीहरू मसँग डराए । मैले उनीहरूलाई कहिल्यै पिट्नु त टाढाको कुरो साह्रो आवाजले गालीसम्म पनि गरेको थिइन । तर डराए किन ? म भित्र पहिलो प्रश्न यहीबाटै तेर्सियो । के देखिन्छ ममा जसले गर्दा उनीहरूलाई मसँग डर लाग्न थाल्छ ?उनीहरूलाई मसँग कुरा गर्न र मनको कुरा खोल्न सहज गराउन मैले पुरै असी मिनेट खर्चनु पर्यो । मैले धेरै गफ गर्नु प¥यो, जोक भन्नु प¥यो, ठट्टा गर्दै आँखा झिम्क्याउने, मुख बङ्ग्याउने, नाक घुमाउने, घाँटी तन्काउने धेरै धेरै…………….। लगातार दुई दिनको दुई पिरियड सकेपछि बल्ल तेस्रो दिनको पिरियडमा उनीहरूले केही सहज माने र मसँग बोल्न थाले अनि बिस्तारै बिस्तारै मन खोल्न थाले । मलाई अचम्म लाग्यो, उनीहरूका लागि त म खतरा मान्छे रहेछु । उनीहरूको आँखामा मलाई त पुरै डरलाग्दो बनाएर देखाइएको रहेछ । यदि कक्षामा गृहकार्य भएन, लेख्न दिईएको कुरा लेखेर आएनन् , घोक्न दिईएको पाठ घोकेर आएनन्, पढाउँदा हल्ला गरे, साथीहरूसँग गफ गरे भने हरेक शिक्षकले “ए तँलाई प्रिन्सिपलकोमा लैजाऊँ ? प्रिन्सिपल सरलाई बोलाइदिऊँ ? अफिसमा गएर प्रिन्सिपललाई कुरा लगाइदिँऊ ?” भन्दा रहेछन् । घरमा बाबुआमाले भनेको मानेनन्, खाना खाने बेलामा झगडा गरे, कपडा लगाउन मानेनन्, स्कुल आउँदा ढिला गरे या बाटोमा पसल देखेर केही किनिदिन भन्दै जिद्धी गरे भने पनि बाबुआमाले –“ए ! तेरो प्रिन्सिपललाई फोन गरिदिऊँ ? स्कुलमा गएर प्रिन्सिपललाई कुरा लगाइदिऊँ ?” भनेर तर्साउँदा रहेछन् । जसका कारण बालबालिकाहरूको दिमागमा सानैदेखि प्रिन्सिपलको भूतले तर्साउँदो रहेछ । प्रिन्सिपलसँग डराउनुपर्छ, बोल्नु हुँदैन, प्रिन्सिपललाई देख्यो भने लुक्नुपर्छ, भाग्नुपर्छ भन्ने बानीको विकास भएको रहेछ ।

त्यसैको फलस्वरुप पहिलो दिन नै प्रिन्सिपल सानासाना बालबालिकाहरूको कक्षाकोठामा छिर्दा उनीहरू डराएर चुपचाप बस्दारहेछन् । यो त पुरै गलत लाग्यो मलाई । आफ्नो प्रिन्सिपल, आफ्नो शिक्षकलाई देखेर बालबालिकाहरू त खुशी हुनुपर्ने, रमाउनुपर्ने, नजिक आउनुपर्ने तर त्यहाँ पुरै उल्टो देखियो । यो सच्याउनु जरुरी देखियो । त्यसैले त्यो दिनपछि म प्रायः खाली पिरियडहरूमा साना कक्षाहरूतिर घुम्ने, उनीहरूसँग हाँस्ने, जिस्किने, चल्ने, रमाउने गर्न थालँे । विद्यालयका छोटा र लामा ब्रेकहरूमा पनि उनीहरू भए ठाउँसम्म पुग्ने र टाउको र गालाहरू मुसारी दिने गर्न थालेँ । जसकारण उनीहरू मसँग बोल्न, हाँस्न र नजिक आउन सहज ठान्छन् आजभोलि । उनीहरुको मिठो मुस्कानमा भगवान्को आकृति पाउँछु मैले, उनीहरुको आँखामा संसारको खुशी पाउँछु मैले अनि उनीहरुको खुसीमा सम्पूर्ण सम्भावनाहरु देख्छु मैले ।  सधैँभरि उनीहरूको कक्षामा छिर्नलाई समयले साथ दिँदैन मलाई । अनि ती सबै कक्षाहरूमा मेरो पिरियड पनि हुँदैन त्यसैले संयोग मिलाउनु पर्ने बाध्यता हुन्छ । यस्तै संयोग पारेर छिरेका बेला एक दिन मैले उनीहरूलाई ठट्टा गर्दै भनेँ, “ल आज एउटा कापीको बीचको पेज च्यात ।” सबैले च्याते । अब म के भन्छु भनेर सबैले कान टाँठा टाँठा पारेर आँखा ठूल्ठूला बनाउँदै मतिर हेरिरहे । “ल अब पेन निकालेर ठिक्क पार ।” मैले हाँस्दै भनेपछि उनीहरू पनि गललल हाँस्दै पेन खोज्न थाले । “नाम लेख्ने हो सर आआफ्नो पानामा ?” एउटी नानीले सोधिन् । “होइन । नाम कसैले पनि नलेख्ने ।” – मैले भने । त्यसपछि सबै ट्वाँ परेर मलाई हेर्दै यताउता खासखुस गर्न थाले । “त्यसो भए यो पानामा के गर्ने त सर ?” फेरि अर्की नानीबाट त्यस्तै प्रश्न आयो । म केहीबेर चुप लागेर एकोहोरो उनीहरूलाई हेरिरहेको देखेर उनीहरू मलाई हेर्दै खासखुस कुरा गर्दै हाँस्दै गर्न थाले । यतिकैमा मैले सबैको ध्यान एक्कासि मतिर तान्दै भनेँ –“ल ! आज आफ्नो शिक्षकहरू र विद्यालयको बारेमा आफ्नो मनमा जे जे लाग्छ त्यही लेख ।” “ हँ ! ” एउटाले नाक खुम्च्याउँदै दङ्ग प¥यो र सोध्यो – “ए, एसे (निबन्ध) लेख्ने भनेको हो सर ?” सबै फेरि गललल्ल हाँसे ।“होइन । एसे सेसे केही होइन । दुईतिन वाक्यमा जे मन लाग्छ त्यही लेख तर तीन या चार लाइनभन्दा बढी लेख्न पाइँदैन ।” मैले भनेँ । “तीनचार लाइनमा त के लेख्नु ? यति नि हुँदैन । ” एउटी थोतेथोते (अगाडिकी दाँत नभएकी) केटीले भनिन् । “आफूलाई जे मन लाग्छ त्यही लेख । गाली गर, माया गर, सल्लाह देऊ, अनुरोध गर, घरमा आउन निम्तो गर, जाँचमा पास गराइदेऊ भनी बिन्ति गर, विद्यालय र शिक्षकप्रति खुसी व्यक्त गर, गुनासाहरू लेख । जे मन लाग्छ त्यही लेख तर चार लाईनभन्दा बढी नलेख ।  आफ्नो नाम पनि नलेख । सबै गोप्य हुनुपर्छ । कसैलाई नदेखाऊ पनि । म मात्रै पढ्छु कसैलाई भन्दिन ।“हेन्डराइटिङ हेरेर चिनिहालीन्छ नि सर…… ।” उहि थोते नानी बोल्दै थिईन तर साँच्चि बुझेझैँ गरी “ए !” भन्दै अरु सबैजना घोप्टो परेर कलम चलाउन थाले । कस्तो रहर लाग्दो हतार उनिहरुको । हत्तपत्त लेखेर भ्याए र तछाडमछाड गर्दै पाना बुझाउन पनि थालिहाले । पछि अफिसमा बसेर फुर्सदमा उनीहरूका पानाहरू पल्टाउँदै हेर्दै गर्न थालेँ । धेरैभन्दा धेरै बालबालिकाहरूले उनीहरूको विद्यालय र शिक्षकहरूको बारेमा राम्रा कुराहरू लेखेका थिए । “मेरा शिक्षकहरू राम्रा हुनुहुन्छ । मेरो विद्यालय राम्रो छ । मेरो शिक्षकहरूले साह्रै माया गर्नुहुन्छ । शिक्षकशिक्षिकाहरू भनेका भगवान् जस्तै हुन् । हामीले पूजा गर्नुपर्दछ । मलाई साइन्स पढाउने मिस मनपर्छ, मलाई नेपाली कक्षामा खुब रमाइलो लाग्छ । मेरो विद्यालय काठमाडौँको सबैभन्दा राम्रो विद्यालय हो । हाम्रो प्रिन्सिपल सर धेरै रमाइलो गर्नुहुन्छ ।” आदि  तर कसैकसैका पानाले मेरो मन तान्यो । सोँच्न सिकायो, रहस्य खोल्न सिकायो र विद्यार्थीहरूका तर्फबाट यो चिठी लेख्न बाध्य बनायो । नकारात्मक पक्षहरू समेटेर यसलाई बोझिलो बनाउने मेरो लक्ष्य थिएन तर पनि साना बालबालिकाहरूबाट आएका यस्ता बोझिला, मन छुने र सकारात्मक पक्ष प्रदर्शनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने वाक्यहरू छुटाउनै मन लागेन त्यसैले यिनीहरूलाई पनि यसै सँगै पस्कने निर्णय गरेँ ।“म मेरा सबै शिक्षकहरूलाई माया गर्छु तर मेरा सबै शिक्षकहरूले मलाई बराबरी माया गर्नुहुन्न ।” यो एउटा विद्यार्थीको गुनासो हो । त्यसैगरी अर्को पानामा लेखेको थियो “सबै सरमिसहरूले ‘सुजन’(नाम परिवर्तन) मिसले जस्तै माया गर्दै बुझाएर पढाइदिने हो भने त म सबै विषयमा पास हुने थिएँ होला ।” त्यस्तै अन्य “म जे पनि गर्न सक्छु तर पढ्न लेख्न किन सक्दिनँ होला ? यही भएर मैले सधैँ पिटाइ खानुपर्छ ।”, “मैले गल्ती गरेको कुरा घर बाबाले थाहा नपाए हुन्थ्यो भन्यो स्कुलबाट फोन गरेर भन्दिहाल्छन् । बेलुका पिटाइ खानुपर्छ । स्कुलमा पनि पिटाइ घरमा पनि पिटाइ हुन्छ ।” “मैले सरमिसको होमवर्क पढ्न पनि पढ्छु तर भन्ने बेलामा आउँदैन । अगाडि सरमिस देख्ने बित्तिकै डर लाग्छ । भन्न मन लागेको कुरा पनि भन्नै सक्दिनँ ।” “मैले त जति आन्सर भने पनि सरले “नो नो” मात्रै भन्नु हुन्छ ।

जे गरे पनि पिटाइ खान परिहाल्छ भन्छु त्यही भएर बरु आको आन्सर पनि भन्दिनँ । आजभोलि त किन किन सरलाई देख्यो भने पनि रिस उठ्छ ।” यस्तै अन्य धरै वाक्यहरू लेखिएका थिए । यी सबै पढ्दै जाँदा यहीँनेर यही “नो नो” ले मेरो पनि ध्यान तानिदियो । बिर्सेकी पुरानी विद्यार्थी पूजाको सम्झना गरायो । बालमनोविज्ञान, बालमैत्री शिक्षा, बालसुलभ व्यवहार र अध्ययन अध्यापन भित्रको नैतिक जिम्मेवारी, शिक्षकहरूबाट हुने व्यवहार, शिक्षकहरूको माया, प्रेम, स्नेह र सकरात्मक टिप्पणीहरूबाट विद्यार्थीहरूमा आउन सक्ने सकरात्मक परिवर्तन आदिको छोटोे अध्ययन गरी समग्रमा सम्पूर्ण शिक्षकहरू र यो पेशामा लागेका सम्पूर्ण विज्ञहरूलाई सम्झँदै र सम्मान गर्दै एउटा चिठी तयार गर्न मन लाग्यो ।

चिठीको भाव कहीँ कतै गलत नलागोस् । यसको भाव भनेकै बालबालिकाहरू प्रति गरिने व्यावहार सकरात्मक होस् , टिप्पणीहरू सकरात्मक होऊन् र सकारात्मक व्यवहारहरूको विकास गरियोस् भन्नु नै हो । यदि आजका बालबालिकाहरूमा शिक्षण सिकाइबाट सकरात्मक विचार र भावनाको विकास गरियो भने यिनैबाट भोलिका बालबालिकाहरूमा सकारात्मक सोंचको प्रवाह हुनेछ र समाज, देश र विश्व नै सकरात्मकतातिर ढल्कने छ । जब सकारात्मक कम्पनहरू अत्याधिक विकास हुनेछन् तब त नकरात्मक कम्पनहरूको खडेरी नै पर्नेछ । स्वर्ग यही हुनेछ । प्रेम यही मौलाउने छ । सधैँको लागि दुराचारमाथि सदाचारको विजय हुनेछ ।मन बहादुर खत्री ‘सागर’नेरिक एकेडेमी, शँखमुल, काठमाण्डौ२०७३ । ०६ । ०१

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com