ताजा समाचार

असाेज २४ गते २०७४

रात्रि व्यवसायमा प्रहरी ‘आतंक’- प्रशासनसँग गुहार माग्दै लेकसाइडका व्यवसायी

- बैदाम इन्स्पेक्टरले गाडीको टायर फेर्न लगाउने, दुख दिने गरेको गुनासो

- अमृत सुवेदी , पोखरा

‘रातिको ११ बज्नै हुन्न प्रहरी आइहाल्छ, कहिले त ११ पनि नबज्दै बन्द गर्न लगाउँदै आउँछ,’ एक दोहोरी व्यवसायीले भने, ‘बन्द गर्छौं भन्दाभन्दै अनेक बहाना बनाएर प्रहरीले दुख दिन्छ । घुमाउरो पारामा पैसाको बार्गेनिङ गर्छ । गाडी मर्मतदेखि सामान किन्नसमेत लगाउँछ ।’
ती व्यवसायीले भनेजस्तै २÷३ दिनअघि वडा प्रहरी कार्यालय बैदामका इन्स्पेक्टर वसन्त शर्मासहितको टोली चिप्लेढुंगास्थित नीरमाया दोहोरी साँझमा पुग्यो । शर्माले व्यवसायीलाई मापदण्ड पूरा गरेर राम्रोसँग व्यवसाय सञ्चालन गर्न सुझाव दिए । नीरमाया दोहोरी साँझका सञ्चालकका अनुसार सुझावसँगै उनले प्रहरी भ्यानको ३ वटा टायर फेर्न लगाए । उनले आनाकानी गरेपछि अर्को दिन ११ बजेपछि पनि दोहोरी रेस्टुरेन्ट खुलै राखेको भन्दै सञ्चालकमध्येका एकजना हीरा पुनलाई प्रहरीले पक्राउ ग¥यो । नीरमाया पुग्नुअघि शर्मा नेतृत्वकै टोलीले महेन्द्रपुलमा रहेको फेवा दोहोरी साँझका सञ्चालक नेत्र ढकाललाई समातेको थियो भने ध्वनि प्रदूषण गरेको भन्दै स्पिकर जफत गरेको थियो । पछि भनसुन र प्रहरीले भने बमोजिम नै काम गर्ने बताएपछि पुन र ढकाल रिहा भएका थिए । यसरी प्रहरी अनेक वाहनामा दुख दिने गरेको व्यवसायीले दुखेसो पोखेका छन् ।

‘११ बज्दा नबज्दै प्रहरी आइपुग्छ । ११ बजे सांगीतिक कार्यक्रम सकेर साढे ११ बजेसम्म ग्राहकलाई बिदाइ गरी सबै बन्द गरिसक्छौं,’ दोहोरी रेस्टुरेन्ट व्यवसायी सुरेन्द्र गुरुङले भने । प्रहरी व्यवसायीसँग धम्कीपूर्ण शैलीमा प्रस्तुत हुने, सहयोग गर्ने भए गर नत्र पख्लास् भन्ने तरिकाले बार्गेनिङ गर्ने गरेको गुनासो लोकदोहोरी रेस्टुरेन्ट व्यवसायीहरुको छ ।

पोशाकमा आएर थर्काउने, बार्गेनिङ गर्ने, सिभिल ड्रेसमा आएर खाने कामसमेत प्रहरीले गर्ने गरेको पृथ्वीचोकको एक दोहोरी रेस्टुरेन्टका सञ्चालकले बताए । ‘मदिराको पनि व्यापार र त्यसमाथि साँझको व्यवसाय भएकाले प्रहरीलाई दुख दिन र भनेको नमाने फसाइदिन सजिलो छ,’ ती व्यवसायीले भने ।

बैदाम प्रहरी प्रमुख इन्स्पेक्टर वसन्त शर्माले दुख दिने तथा पैसा असुल गर्ने नियतमै दुख दिने गरेको एक व्यवसायीको दाबी छ । ‘पैसाको बार्गेनिङ गर्ने, पैसा दिए ११ बजेपछि पनि खुल्न दिने नदिए दुख दिने काम भएको छ,’ एक व्यवसायीको आरोप छ, ‘लेकसाइड क्षेत्रका केही डान्स, होटल तथा बारमा प्रहरीले त्यस्तै गर्ने गरेको छ ।’

महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जनाचोक लगायत क्षेत्रमा रात्रिकालीन व्यवसाय गर्ने होटल तथा दोहोरी रेस्टुरेन्ट व्यवसायीको उस्तै गुनासो छ । पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रका व्यवसायी पनि प्रहरीले राति ११ बजे नै बन्द गर्न दबाब दिने गरेको आरोप लगाउँछन् । ‘सरकारले ठमेल र पोखरालाई २४ सै घन्टा खोल्न पाउने नीति ल्याएको छ । तर, पर्यटकको चहलपहल हुने लेकसाइडमा प्रहरीले ११ बजे नै बन्द गर्न दबाब दिने गरेको छ,’ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष चौबहादुर गुरुङले भने ।

पर्यटकीय सिजन सुरु भएको समयमा व्यवसायीलाई मात्र नभएर प्रहरीले पर्यटकलाईसमेत दुख दिने गरेको गुनासो व्यवसायीको छ । गुरुङले भने, ‘सुरक्षा दिने प्रहरीबाट हामीले व्यावसायिक असुरक्षाको महसुस गर्नुपरेको छ ।’

व्यवसायीले आफूहरुलाई बिनाकारण जबरजस्ती पक्राउ समेत गर्ने गरेको गुनासो गरेका छन् । केही दिनअघि बिजिबी क्याफेका सञ्चालक सुनील भट्टराईलाई बिनाकारण पक्राउ परेको व्यवसायी सुनाउँछन् । प्रहरीले बन्द गर्ने नाउँमा राति ११ बजे नै सबैखाले व्यवसाय बन्द गराउने गरेको रेबान सचिव गणेशबहादुर थापाले बताए । ‘रक्सी खाएर होहल्ला गरेको भए प्रहरीले विशेष निगरानी राखोस्, बन्द गराओस् केही भएन तर सबै व्यवसाय ११ बजे नै बन्द गराउनु हुँदैन,’ थापाले प्रश्न गरे, ‘के ११ बजेपछि पोखरा आउने पाहुनाले खानै नपाउने ? ११ बजे नै किराना पसल पनि बन्द गर्ने, ट्राभल पनि बन्द गर्ने, चियाकफी सप पनि बन्द गर्ने गरिएको छ यो गलत हो ।’

११ बज्दा नबज्दै प्रहरीले गाडीबाटै सिठी बजाउँदै सबै पसल बन्द गर्न लगाउँदै हिँड्नु गलत भएको व्यवसायी भीमसेन भुजेल बताउँछन् । ‘११ बजे नै सानादेखि ठूलासम्म सबै खाले व्यवसाय बन्द गर्न लगाउने प्रहरीले अहिलेसम्म नभएको काम गरेको छ । यो गलत हो,’ रेबानका उपाध्यक्षसमेत रहेका भुजेलले भने । केही व्यवसायीले बदमासी गरेका छन् भने कारबाहीको दायरामा ल्याउनुपर्ने तर सबैलाई दुख दिन नपाइने उनको तर्क छ ।

प्रहरीले हैरान पारेको भन्दै रेबान आवद्ध व्यवसायीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गुहारेका छन् । आइतबार प्रजिअ तारानाथ अधिकारीलाई भेटेर प्रहरीले व्यवसायीलाई आतंकित गराउने काम गरेको भन्दै सहज वातावरण बनाइदिन आग्रह गरेका छन् । गृह मन्त्रालयले पोखरामा २४ सैं घन्टा व्यवसाय चलाउन दिने निर्देशन दिएपछि खुसी भएका व्यवसायी यतिबेला चिन्तित छन् ।

मापदण्ड तयार गर्छौंं ः सिडिओ
अहिले ११ बजे होटल, रेस्टुरेन्ट, क्याफे तथा गजल, दोहोरीका सांगीतिक कार्यक्रम बन्द गर्ने र १२ बजेभित्र सबै ग्राहकलाई पठाउने एकखालको सहमति छ । आइतबार व्यवसायी र कास्कीका सिडिओ तारानाथ अधिकारीबीच यही विषयमा सहमति भएको छ । छिट्टै व्यवसायीसँग अर्को छलफल गरे एउटा निर्णय निकाल्ने सिडिओ अधिकारीले बताए । गृह मन्त्रालयले २४ सै घन्टा खोल्न पाउने निर्देशन जारी गरे पनि निर्देशिका नबनिसकेको उनले बताए । ‘सुझाव माग गरिरहेका छौं । मन्त्रालयको जवाफ आएसँगै व्यवसायीको छलफलबाट एउटा मापदण्ड तयार गर्छाैं,’ सिडिओ अधिकारीले भने । तोकिएको समय नाघेर मदिराजन्य सामग्री बेचे कारबाही हुने तर अन्य सामग्रीमा रातभर चलाउन पाउने गरी मापदण्ड तयार गरिने उनको भनाइ छ ।

गृहमन्त्रीको भतिजो भन्दै प्रहार भइरहेको छ ः इन्स्पेक्टर शर्मा
वडा प्रहरी कार्यालय बैदामका इन्स्पेक्टर वसन्त शर्माले आफूमाथि विभिन्न कारणले प्रहार भइरहेको बताएका छन् । कहिले गृहमन्त्री जनार्दन शर्माको भतिजो भन्दै त कहिले अनेक बाहनाले आफूमाथि प्रहार भइरहेको उनको भनाइ छ । ‘म पोखरा आउनुभन्दा अघि नै मेरो समाचार पोखरा आइपुगेको हो । आएपछि पनि गृहमन्त्रीको भतिजो भन्दै समाचार आए,’ शर्माले भने, ‘म एक सेवक हुँ । जसले जे भने पनि केही फरक पर्दैन ।’

उनले कसैसँग केही बार्गेनिङ नगरेको बताए । ‘मैले न त गाडीको टायर फेर्न भनेको छु न त कसैसँग पैसा मागेको छु,’ शर्माले भने, ‘फलानाले यो ग¥यो, त्यो ग¥यो भन्ने आइरहेको छ । तर, मैले नराम्रो गरेको छैन । म बिचलित छैन । अनवरत सेवा गर्नेछु ।’ मापदण्ड पूरा गरेर व्यवसाय गरे प्रहरीले कसैलाई दुख नदिने उनको भनाइ छ । शर्मा केही महिनाअघिमात्रै वडा प्रहरी कार्यालय बैदाम सरुवा भएर आएका थिए ।

शर्मालाई स्पष्टीकरण माग
इन्स्पेक्टर वसन्त शर्माले व्यवसायीलाई दुख दिएको तथा गाडीको टायर फेर्न लगाएको गुनासो आएपछि कास्की प्रहरीले उनलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । वास्तविकता के हो भनेर २४ घन्टाभित्र जवाफ दिन भनी स्पष्टीकरण सोधिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।

‘स्पष्टीकरण सोधेको छु, प्रहरीले बिनाकारण कसैलाई दुख दिने काम गरेजस्तो मलाई लाग्दैन । त्यस्तो भेटिए कारबाही हुन्छ,’ सिंहले भने, ‘शान्ति सुरक्षा कायम गर्न र राज्यको कानुन पालना गर्ने क्रममा प्रहरीलाई अप्ठेरो पार्ने काम नगरियोस् ।’

 

अमृत सुवेदी , पोखरा

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com