ताजा समाचार

असाेज २६ गते २०७४

दाद आयो भने के गर्ने ? यसबाट कसरी जोगिने ?

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

धेरैले आफ्नो छालामा चिलाउने ‘दाद’ आएको भन्छन्। त्यसलाई दाद भनिए पनि त्यो ‘फंगल इन्फेक्सन’ अर्थात् छालामा ढुसी पर्नु हो। गर्मी मौसममा फंगल इन्फेक्सन बढी हुन्छ।

ढुसी कस्तो ठाउँमा पर्छ र कसरी पर्छ? धेरैलाई थाहा भएकै कुरा हो। बासी खानामा, ओसिलो ठाउँमा ढुसी पर्ने हो। प्रायः घर वा कोठाको कुनातिर ढुसी परेको देखिन्छ। मान्छेमा पनि यही नियम लागू हुने हो।

 

यसलाई मेडिकल भाषामा ‘डम्र्याटोफाइसिस’ भनिन्छ । खासगरी, छालाको सतहमा रहेका मृत कोषमा ढुसी पलाउँछ । त्यसैले यसलाई ‘सुपरफिसियल फंगस’ पनि भनिन्छ।

आफू सफासुग्घर रहँदारहँदै पनि कहिलेकाहीँ यस्ता समस्याबाट पीडित भएको गुनासो सुन्ने गरिन्छ। यो अरुबाट सरेर आएको हुन सक्छ। यस्तो चिलाउने ढुसी माटो, जनावर र अरु व्यक्तिबाट सर्ने गरेको पाइन्छ।

गाउँघरमा धेरै मानिस जनावरबाट सरेको दादले पीडित हुन्छन्। त्यसैले कतिपयले यस्ता दादलाई ‘भैँसे दाद’ पनि भनेको सुनिएको छ।साथीहरुसँग लुगा साटेर लगाउँदा, एउटै तौलियाको प्रयोग गर्दा वा परिवारका अन्य सदस्यबाट पनि दाद सर्न सक्छ।

कुन–कुन ठाउँमा हुन्छ दाद ?

  • दाद शरीरको जुनसुकै भागमा आउन सक्छ, टाउकोदेखि पैतालासम्मै। तर, टाउकोमा २ देखि १२ वर्षको उमेरसम्म मात्रै आउँछ। त्यसपछि किशोरावस्थामा मान्छेको शरीरमा उत्पन्न हुने ‘लिनेनिक एसिड’ले टाउकोमा यस्ता दाद आउन दिँदैन।
  • कतिपयको घाँटीमा, कतिको जिउतिर, कतिको नङमा र कतिको शरीरका जुनसुकै भागमा दाद देखिन्छ। दादको आकार ‘रिङ’ जस्तो हुन्छ। पैसा जस्तो बीचमा खाली र किनारमा खस्रोफुस्रो हुन्छ।
  • यस्तो समस्या महिलामा भन्दा पुरुषमा बढी देखापर्छ। किनभने महिलाहरु सरसफाइमा बढी ध्यान स्वभावका हुन्छन्। बाहिरतिर बढी निस्किरहने तर सरसफाइमा कम ध्यान दिने स्वभावका पुरुषलाई दादले सताउँछ।

भ्रम र उपचार

  • दाद आएपछि यसको औषधि जथाभावी प्रयोग गरिन्छ। जसका कारण समस्या निर्मूल हुनेभन्दा पनि बल्झिने गरेको भेटिन्छ। धेरैले दाद त हो, ठीक भइहाल्छ भनेर वास्ता गर्दैनन्। कतिपयले चाहिँ चिकित्सकको सल्लाहबिना आफैँ औषधि किनेर प्रयोग गर्छन्। यी दुवै कुरा ठीक होइनन्।
  • औषधि प्रयोग गर्ने धेरैलाई थाहा होला, मेडिकलवालाले ‘क्लोबिन जी’ नामक औषधि दिइरहेका हुन्छन्। यसमा चारवटा औषधि मिसिएको हुन्छ। एउटाले काम नगरे अर्कोले त गर्ला भनेर यस्तो गरिएको हो। जसलाई अँध्यारोमा ढुंगा हानेजस्तो मान्न सकिन्छ।
    यसमा चिलाउन रोक्ने तत्व हुने भएकाले चिलाउने समस्या कम हुन्छ तर पछि फेरि बल्झिन्छ।
  • यसैगरी, दाद आएपछि धेरैले साबुन चलाउनु हुँदैन भन्ने सल्लाह दिएको पाइन्छ। यो सरासर गलत हो। सामान्य हिसाबले हेर्दा पनि साबुनले धोएर राखेको लुगामा ढुसी पर्ने सम्भावना कम हुन्छ। त्यसैगरी मान्छेको ज्यानमा पनि साबुनले सफा गर्दा ढुसी पर्ने सम्भावना कम हुने हो।

जोगिने कसरी ?

  • दाद के कारण आएको हो भन्ने थाहा पाएपछि जोगिने उपाय लगभग थाहा भइसक्छ। दादलाई नियमित सरसफाइ गर्ने र सुख्खा राख्ने गर्नुपर्छ। नाइलन मिसिएका कपडाको प्रयोग कम गर्नुपर्छ। जसले पसिना धेरै निकाल्ने गर्छ र शरीर ओसिलो बनाइराख्छ।
  • यसैगरी, धेरैजसोको बाथरुम वा कोठाभित्र भित्री लुगा सुकाउने बानी हुन्छ। यसले गर्दा पनि फंगल इन्फेक्सन हुने गर्छ। त्यसैले लुगा घाम लाग्ने वा प्रसस्त हावा चल्ने ठाउँमा सुकाउँदा राम्रो।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com