ताजा समाचार

मंसिर २० गते २०७४

तीन घरमा आगलागी, ३५ लाखको क्षति

- सेतो परेवा सम्वाददाता,  ताप्लेजुङ

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।विद्युत् प्रवाह भई मंगलबार आगलागी हुँदा वडा नम्बर ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दिउँसो साढे ३ बजे देउमानको घरमा विद्युत् प्रवाह भई आगलागी सुरु भएको र नजिकै रहेका अन्य घरमा समेत आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

आगलागीले घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, गरगहना लगायतका सामान जलेर नष्ट भएको छ । तीनवटै घर र घरभित्र रहेका सामान जल्दा ३५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीको समयमा घरका परिवार घर बाहिर काममा रहेकाले समयमा आगलागीको जानकारी नहुँदा समयमै नियन्त्रण हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीका कारण घर गुमाएका तीनवटै परिवार अहिले आफन्तको शरण लिएर बसेको बताइएको छ ।

विस्थापित परिवारलाई बुधबार नेपाल रेडक्रस सोसाइटी हाम्पाङ उपशाखाले राहतस्वरुप दाल, चामल, पाल लगायतका सामग्री वितरण गर्ने तयारी गरेको छ । रासस

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com