ताजा समाचार

मंसिर २० गते २०७४

मतदातालार्इ पैसा बाँड्न बोकेको तीन लाखसहित एमाले कार्यकर्ता पक्राउ

- सेतो परेवा सम्वाददाता, पर्सा

पर्साको पोखरीयाबाट सशस्त्र प्रहरीले एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित पक्राउ गरेको छ। पर्साको क्षेत्र नम्बर ३ मा पर्ने पोखरीया नगरपालिका ९ सोमरबारी चोकबाट सशस्त्र प्रहरीले बुधबार बिहान एमाले कार्यकर्तालाई तीन लाख नगदसहित पक्राउ गरेको हो।

पर्साको बहुदरमाई नगरपालिका ७ फुलकौल टोला अशोककुमार गुप्ता रौनियार, वासुप्रसाद यादव र वृजेष पटेल पक्राउ परेका हुन्। रौनीयार, पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार एवम् एमाले नेता राजकुमार गुप्ता रौनीयारका भाइ हुन्।

ना १ ह ९३३२ अटो रिक्सालाई समेरबारी चोकमा सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गर्दा नगद तीन लाखसहित एमालेको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएको मतपत्रका नमुना, एमालेको चुनाव चिन्ह अंकित पर्चालगायतका चुनावी प्रचारका सामाग्री बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा दत्त पन्तले जानकारी दिए।

‘गाँउ तिर जाँदै गरेको अटो रिक्सा चेकजाँच गर्दा एक जनाको साथबाट दुई लाख र अर्का एक जनाको साथबाट एक लाख रुपैयाँ बरामत भएको छ, ’उनले भने ,‘रकमसंँगै एमालेको झण्डा, नमुना मतपत्र समेत अटो रिक्साबाट बरामद भएको छ।’

नगद रकमसहित पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान र कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले जानकारी दिए।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com